विद्यालय बन्द भएका बेला दिवा खाजामा ५९ करोड - Update


विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता हुने गरेको पाइएको छ । शिक्षक, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले प्रतिविद्यार्थी सरकारले दैनिक उपलब्ध गराउने १५ रुपैयाँमा पनि लोभ गरेका छन् । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा दिवा खाजा कार्यक्रम, निःशुल्क सेनेटरी प्याड, लकडाउनका बेला सञ्चालित अनलाइन कक्षा, स्थानीय तहमा शिक्षक नियुक्तिमा मनोमानी भएको उल्लेख छ । 

प्रतिवेदनअनुसार देशभरका १ सय ९२ स्थानीय तहले विद्यालय बन्द रहेको अवस्थामा पनि दिवा खाजाको ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेका छन् । विद्यार्थी विद्यालयमा उपस्थिति नभएको दिन यकिन गरी खर्च गरिएको रकम असुल्न महालेखाले सुझाव दिएको छ । वीरगन्ज महानगरपालिकाले विद्यार्थी संख्या र हाजिरीको प्रमाणित अभिलेखबिनै ८७ विद्यालयलाई १ करोड ३८ लाख ९८ हजार निकासा गरेको छ । महालेखाले उक्त रकम बैंकमा रोक्का रहेको अवस्थामा रहेकाले बढी रकम फिर्ता लिन भनेको छ ।

दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिकामा विद्यार्थी हाजिरीका आधारमा रकम खर्च गर्न पाउने व्यवस्था छ । कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकमसमेत भुक्तानी गरेर मनमौजी हुने गरेको हो । गत वर्ष पनि स्थानीय तहले विद्यालय बिदा रहेको दिनमा पनि दिवा खाजाको रकम खर्च भएको महालेखाले औंल्याएको थियो ।

वार्षिक १ सय ८० दिनका लागि संघीय सरकारले अनुदानका रूपमा प्रतिविद्यार्थी १५ रुपैयाँको दरले बजेट स्थानीय तहमा पठाउँछ । महालेखाले विद्यार्थी हाजिर प्रमाणित अभिलेख झिकाई उक्त खर्चको यथार्थ यकिन गर्नुपर्ने समेत औंल्याएको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको संख्या यकिन गरी भुक्तानी दिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

२०७८ वैशाख ११ देखि असार मसान्तसम्म विद्यालय सञ्चालन नभएकामा प्रदेश १ का कन्काई, मेचीनगर, दमकलगायत १९ नगरपालिकाले दिवा खाजाबापत ६ करोड ९३ लाख ७० हजार रुपैयाँ निकासा गरेको पाइएको छ । उदयपुरको रौतामाई, झापाको गौरीगन्ज, भोजपुरको अरुणलगायत १८ गाउँपालिकाले विद्यालय बन्द रहेको अवधिमा विद्यार्थी दिवा खाजा कार्यक्रममा ५ करोड ३ लाख ५५ हजार रुपैयाँ खर्च गरेका छन् । महोत्तरीको एकडरा गाउँपालिकाले १ सय १२ दिन मात्र विद्यालय सञ्चालन भए पनि १ सय ८० दिनकै दिवा खाजाको बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले विद्यालय बन्द भएको दिन पनि दिवा खाजामा ३७ लाख ६३ हजार खर्च गरेको हो । धनुषाको विदेह नगरपालिकाले २ मदरसालाई दिवा खाजा र शिक्षण सिकाइ रकमको ११ लाख ३ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

तनहुँको भानु नगरपालिकाले ५७ विद्यालयका ३ हजार ६ सय ६२ विद्यार्थीका लागि माघदेखि वैशाखसम्म ९९ दिनको ५४ लाख ३८ हजार रुपैयाँ दिवा खाजा रकम निकास दिएको छ । तर विद्यालयको प्रमाणित हाजिरी रुजु गर्दा यी नगरपालिकाका ४८ विद्यालयमा विद्यार्थीको हाजिरीभन्दा १७ लाख ३४ हजार रुपैयाँ बढी भुक्तानी भएको देखिएको खबर कान्तिपुर दैनिकमा छ ।

Post a Comment

Previous Post Next Post