गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाकाे स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ ।
नागरिकस्तरबाट व्यापक विरोध भएपछि आउँदाे आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजन भएको रकम फिर्ता हुने मुख्य मन्त्रीका प्रेस संयोजकले विज्ञप्ति मार्फत जनाएका छन ।
स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट आम नागरिकको भावनालाई कदर गर्दै प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउने भनी विज्ञप्तिमा भनिएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा मुख्यमन्त्री पोखरेलका बुबा गोवर्द्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका-१० मा स्थापित कोषलाई ५० लाख रुपैयाँ छुट्याएको थियो भने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा खोलिएको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टमा ५० लाख रुपैयाँ छुट्याइएको थियो ।
त्यसैगरी पर्वतको कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका बुबा अमृत जोशीको स्मृति पार्क निर्माणका लागि २० लाख रुपैयाँ र कुश्मा नगरपालिकाका पूर्व उपमेयरका दिवङ्गत पति डिल्लीराम लामिछानेकाे स्मृति प्रतिष्ठान भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको थियो ।
सामाजिक संजाल संगै विभिन्न संचार माध्यममा बजेट विनियोजनलाई लिएर व्यापक विरोध भएको थियो ।