आकाशगङ्गाका ताराहरूको जन्म र तिनको अन्त्यका रङ्गीन तस्बिर सार्वजनिक


चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ । 

लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैन; आकाशगङ्गाका ताराहरूको जन्म र तिनको अन्त्यका रङ्गीन तस्बिर सार्वजनिक गरिदिएको छ । ब्रह्माण्डबारेका मानव कल्पनालाई यी तस्बिरले ठोस आकार दिएको छ । अनि खोलिदिएको छ; ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल ।

अन्तरिक्षको अनुसन्धानका लागि चर्चित नासाको वर्षौंको योजना र छ महिनायताको अथक मेहनतका परिणाम बनेका छन् यी तस्बिर । ‘अनफोल्ड दी युनिभर्स’ नाम दिइएको यो परियोजनाका लागि नासाले १२ खर्ब रुपियाँ (करिब १० अर्ब अमेरिकी डलर)भन्दा बढी खर्च गरिसकेको छ । त्यही खर्चबाट निस्किएका तस्बिर नासाले अमेरिकाका राष्ट्रपति जो बाइडेनमार्फत सारा विश्वमाझ नेपाली समयअनुसार मङ्गलबार साँझपख सार्वजनिक गरेको हो । सार्वजनिक भएका चारै तस्बिरका आआफ्नै विशेषता छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Post a Comment

Previous Post Next Post